२०७५-८-२८

०९:४२

‘परम्परागत खेतीबाट माथि उठ्नुस्’

 

रुकुम (पूर्व), १५ मङ्सिर  - प्रदेश नं ५ का भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि क्षेत्रमा अगाडि बढ्न कृषकले परम्परमगत खेती प्रणालीबाट माथि उठ्नुपर्ने बताएका छन । 

शुक्रबार पशुपालक कृषि उद्यमी तथा वित्तीय संस्थासँग सहकार्यका लागि गरिएको छलफलमा मन्त्री पौडेलले अहिलेको कृषि पेशा निर्वाहमुखी मात्र भएको बताए । उनले कृषि पेशालाई व्यावसायीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा उनले उत्पादन क्षेत्रको आधारमा जिल्लाका विभिन्न ठाउँलाई तरकारी, फलफूलखेती र पशुपालनको पकेट क्षेत्र घोषणा गरिएको जानकारी गराए । 

“रुकुम (पूर्व) उत्पादनको हिसाबले धेरै सम्भावना बोकेको जिल्ला हो, जिल्लालाई बीउ उत्पादन क्षेत्रका रूपमा पनि चिनाउन सकिन्छ”, मन्त्री पौडेलले भने, “तपाईंहरु काम गर्नुस्, हामी बाटो देखाउँछौँ, खाडी मुलुक जाने सपना देख्न छाड्नुस् ।” 

जिल्लामा पशुचौपाया तथा फलफूल अन्नबालीको बीमा गर्नेको सङ्ख्या न्यून रहेको पशुसेवा केन्द्रका प्रमुख धर्मराज गिरीले बताए । “कृषकलाई बीमासम्बन्धी ज्ञानको अभाव छ,” उनले भने । बीमित पशु, फलफूल तथा अन्नबालीमा क्षति पुगेमा ९० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था रहेको उनले जानकारी दिए । बीमा जोखिम बहन गर्ने मुख्य थलो भएको पशु चिकित्सक डा शिवलाल भुसालको भनाइ थियो । (रासस)