२०७५-८-२८

०९:१०

शाल्यकृयाबाट ८० प्रतिशतसम्म शिशुलाई एचआइभी संक्रमणबाट जोगाउन सकिने : एसिस्टेन्ट प्रोफेसर डा. लोक श्रेष्ठ

रेडियो कार्यक्रम हाम्रो स्वास्थमा प्रस्तोता अनिताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एसिस्टेन्ट प्रोफेसर डा.लोक श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानी

 

१. एचआईभी र एड्सलाई हामीले कसरी बुझ्ने ?

- धेरैले यसलाई पर्यावाची शब्दको रुपमा बुझ्ने गरेका छन् । तर मेडिकल भाषामा एचआईभी भनेको भाइरस र एड्स भनेको रोग हो ।  जब एचआईभी शरीरभित्र प्रवेश गर्छ त्यसपछी हाम्रो शरीरको प्रतिरोधी क्षमतालाई विनाश गर्छ र एड्स भनेको एचआईभी भाइरस छिरेपछी रोग लागेपछीको चरमको अन्तिम विन्दु हो ।

 

२. एचआईभी कसरी सर्छ ?

- एचआईभी एउटा डरलाग्दो सरुवा रोग हो । यो विभिन्न तरिकाबाट सर्दछ जस्तै : प्रथम सर्ने भनेको एचआईभी पीडितसँग असुरक्षित यौन सम्पर्क गरेपछी , संक्रमित व्यक्तीको रगत वा रगतजन्य पदार्थ लिएमा ,एउटै सुइ धेरै जनाले प्रयोग गरेमा ,संक्रमित आमाबाट बच्चामा र अंग प्रत्यारोपणबाट पनि सर्दछ । अहिलेको तथ्याङक हेर्ने हो भने ८५ प्रतिशत संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको पाईेएको छ ।  

 

३. एचआईभी सरेपस्चात शरीरमा देखिने विकासका चरणहरु कस्तो हुन्छ ?

-  एचआईभी सरेपस्चात शरीरभित्र तीनवटा चरणहरु रहेका छन :

            (क) चरण एकमा :  हाम्रो शरीरमा एचआईभी सरेपछी ४ - ६ हप्तामा मात्र लक्षण देखा पर्दछ । पहिलो चरणमा रुघाखोकी आउने , जिउ   दुख्ने , टाउको र घाटी दुख्ने जस्ता साधारण लक्षण देखापर्दछ ।

          (ख) चरण दुईमा : यो अवस्थामा संक्रमितमा कुनै पनि लक्षण देखिन्दैन तर अरु व्यक्तिलाई संक्रमितले सार्न भने सक्छन । यो चरणलाई ल्याटेन्ट स्टेज पनि भनिन्छ ।

         (ग) चरण तिनमा : यो भने अन्तिम विन्दु हो । यो चरणमा बिरामीको औशत आयु भनेको २ - ३ वर्ष हुन्छ ।

 

४. संक्रमित काल भनेको के हो ?

- संक्रमित काल भनेको हाम्रो शरीरमा एचआईभी प्रवेश गर्नु र असर देखिनु बिचको समय अवधी हो ।

 

५. एचआईभी एन्टीबडी जाँच भनेको के हो ?

-  हाम्रो मानव शरीरमा कुनै पनि बाहिरी वस्तु जस्तै भाईरस ,ब्याक्टेरिया आदी प्रवेश गर्ने बित्तिकै हाम्रो शरीरले त्यसलाई प्रतिरोध गर्नलाई कुनै वस्तु बनाउछ त्यसलाई एन्टीबडी भनिन्छ ।

एचआईभिको केसमा भाईरस प्रवेश गरेको २२ दिनपछी मात्र हाम्रो शरीरले एन्टिबडी बनाउन शुरु गर्छ । त्यसैले आफु संक्रमित छु कि भन्ने थाहा पाउन २२ दिनपछी जाँच गराएर थाहा पाउन सकिन्छ । कुनै व्यक्तिले असुरक्षित यौन वा कुनै पनि जोखिमपूर्ण कार्य गरेको थाहा भएको एक महिना पछी जाँच गराउनुपर्दछ । जुनसुकै अस्पातलमा एचआईभिको छुट्टै  युनिट रहेको हुन्छ र गोपनियता राखेर जाँच गरिन्छ । यदी रिपोर्ट नेगेटिभ आयो भने ढुक्क हुन सकिन्छ कि आफु संक्रमित छैन भनेर । नेपाल सरकारले एन्टिबडी जाँच निशुल्क गरेको छ र एक दिनमा १५ मिनेट भित्र कुनै पनि स्वास्थ्यचौकिमा गएर जाँच गराउन सकिन्छ त्यो पनि निशुल्क ।

 

६. एचआईभी संक्रमणको ईतीहास र नेपालमा कहिले एचआईभी संक्रमण भेटियो ?

- विश्वमा सन १९८० मा एचआईभी पत्ता लागेको हो र त्यसको ठीक आठ वर्ष पछी सन १९८८ मा नेपालमा भेटिएको थियो ।

नेपालमा अहिले सरकारी तथ्याङक अनुसार ३२ हजार जना संक्रमित रहेका छन । यसमा २० हजार पुरुष र १२ हजार महिला रहेका छन । महिलाको तुलनामा पुरुष बढी जोखिममा छन । र यसको मुख्य कारण भनेको  लागुऔषध र वैदेशिक रोजगार रहेका  हुन ।

 

७. आफु संक्रमित हुनबाट कसरी बच्ने ?

-  म आँफै स्वयमले धेरै ठाउमा सुनेको छु कि एचआईभीबाट संक्रमित भएकोसँग साथी न बन्नु र घरबाट पनि कतीपयहरुलाई निकालेको पाईन्छ तर सँगै बस्दैमा , खानेकुरा खाँदैमा र सँगै सुत्दैमा एचआईभी सर्दैन र यस्ता भ्रम हामीले त्याग्नुपर्दछ । आफु सुरक्षित रहन रगत लिदा संक्रमण भए न भएको  ध्यान दिने , कण्डमको प्रयोग गर्ने  र  सुरक्षित यौन व्यवहार अपनाएमा सुरक्षित हुन सकिन्छ ।

 

८. संक्रमित आमाबाट बच्चा कसरी संक्रमित हुन्छन ?

-  १५ - ४५ प्रतिशतसम्म संक्रमित आमाबाट बच्चा संक्रमित हुने सम्भावना हुन्छ । जोखिम बढ्ने कारण आमाको रोगको चरणमा भर पर्दछ । त्यस्तै आमाको शरीरमा भाईरको लोड जती बढी हुन्छ त्यतिनै बच्चा संक्रमण हुन सक्छन , आमाको ईमिउनिटी कती छ यि सबै कुराले प्रभाव पार्दछ ।

यदी आमाले औषधी प्रयोग गरेको छ भने जोखिम १ - २ प्रतिशत मात्र हुन्छ जबकी औषधी सेवन नगरेको आमाबाट ४५ प्रतिशत जोखिम रहन्छ बच्चा संक्रमण हुने । अर्को भनेको बच्चा कसरी जन्मिएको छ त्यसले पनि फरक पार्दछ जस्तै बच्चा योनीमार्गबाट प्रसव भएर जन्मिने प्रकृया १२ - १६ देखि १८ घण्टा सम्म हुन सक्छ त्यो अवधीमा योनी च्यातिने , प्रसव लम्बिने र योनिको रस र रगत बच्चाको सम्पर्कमा आउने भएकोले शिशु एचआइभीबाट संक्रमण हुने सम्भावना बढी हुन्छ तर शाल्यकृयाबाट ८० प्रतिशत सम्म शिशुलाई जोगाउन सकिन्छ र गर्भवती महिला संक्रमित छन भने शाल्यकृयानै गर्नु उपयुक्त हुन्छ   । त्यसैले संक्रमण हुनबाट बच्चालाई जोगाउन गर्भवती महिलाले सर्वप्रथम आफु स्वयमले एचआईभिको जाँच गराउनुपर्दछ किनभने जती छिटो रोग पत्ता लागे त्यती छिटो औषधी र स्याहरमा ध्यान दिन सकिन्छ ।

 

९.  अन्त्यमा जाँदा जाँदै के भन्न चाहनुहुन्छ ?

-पहिले औषधी नहुँदा यो रोगको निकै त्रास थियो समाजमा तर अहिले चेतना स्तर बढेर होला पहिलेको भन्दा त्रास काम देखिन्छ । नो यर स्टाटस भने जस्तै आफुले कुनै त्यस्तो जोखिमपूर्ण कार्य गरेपछी अनिवार्य एचआईभी जाँच गराउने र निर्धक्क भएर बस्न सकिन्छ । पुरुष प्रधान हाम्रो समाजमा महिला संक्रमित्र हुँदा उनिहरुलाई नै लांछन लगाउने गरिन्छ तर महिला संक्रमित तब हुन्छिन जब पुरुष संक्रमण हुन्छन यो बुझ्न जरुरी छ । त्यो अवस्थामा बच्चा र आमा स्वास्थ्य राख्न जोड दिनु पर्दछ ।

एचआईभीलाई पुरै निर्मुल पार्न न सके पनि बिरामीको आयु भने बढाउन सकिन्छ । पहिलो चरणमै उपचार गराए दोश्रो र तेश्रो चरणमा जान दिइन्दैन र संक्रमित व्यक्ती ७० वर्ष सम्म बाँच्न सक्छन ।