२०७५-१०-७

१०:४२

गायिका मिलना रार्इको नयाँ एकल गिती एल्बम मिलन सार्वजनिक

गायिका मिलना रार्इले केही महिना अगाडी एकता म्युजिक प्रा. लि. बाट "मिलन गिती एल्बम" बजारमा ल्याएको छ । यसै एल्बका विषयमा गायिका मिलना रार्इ र संगितकार भिम कुलुङसंग रेडियो धरानमा गरीएको कुराकानी ।

 

१. मिलना गीति एल्बम कुन परिकल्पनाबाट बजारमा प्रस्तुत गर्नुभएको हो ?

- धेरै अघिबाट यो एल्बमको योजना बनाइएको हो । मिलनाले गाउन रुचाउने भएको, पहिले पनि थुप्रै भाषिक गित गाइसकेको अनुभव उनमा रहेको छ । योजना बनाउदै ल्याउँदा उनको सोलो एल्बम ल्याउने बिचारमा दशैं भन्दा केही अघिमात्रै एल्बम ल्याउन सफल भएका हौं ।

 

२. कति लागतमा यो एल्बमले पूर्णरुप पयो ?

- यति नै भनेर कन्फर्म नहुँदोरहेछ । लगानी त धेरै नै हुन्छ । स्टुडियो देखि लिएर गीतकार, संगीतकार त्यसरी नै भिडियो देखि सम्पूर्ण पाटोमा लगानी गर्नुपर्ने भएकाले यतिनै लगानी लाग्यो भनेर कन्फर्म छैन । हाम्रो तर्फबाट भन्नुपर्दा धेरै नै भयो भन्नु पर्छ ।

 

३. पाँचवटा गीतमध्ये तपाईंलाई व्यक्तिगतरुपमा मनपर्ने गित कुन रहेको छ ?

- (गायिका) पाँचवटै गीतहरू सबै उस्तै नै हुन् । छान्नै पर्दा “पहाडकी छोरी” मनपर्छ ।

- (संगीतकार) सबै आ-आफ्नो क्षेत्रमा उत्कृष्ट नै छन् । आफूले जन्माएको सन्तान जस्तो भएपनि सबै उस्तै लाग्छ । तर पनि एउटा उत्कृष्ट छान्नै पर्दा लोक लयमा रहेको र शब्दहरु सधैभरी टिक्ने प्रकारको “पहाडकी छोरी” नै राम्रो लाग्ने गर्दछ । यसमा शब्द मेरै रहेको छ भने संगित उदिम रार्इको रहेको छ ।

 

४. रेकर्डिङ र प्रचारप्रसारको लागि म्युजिक कम्पनीले कतिको साथ दिएको छ ?

- एकता म्युजिक कम्पनिका संगीतकार उदिम राईको नै हो । उहाँले आर्थिक सहयोग नभएपनी भावनात्मक सहयोग देखि लिएर म्युजिक ट्रयाक बनाउन, स्टुडियोमा संगीतकारहरुलाई संयोजन गर्न देखि धेरै सहयोग गर्नुभएको छ । बजारको कुरा गर्ने हो भने काठमाडौँ उपत्यकाभित्र उहाँबाट नै सहयोग भएको छ । यसबाहेक वैदेशिक रोजगारीमा गएका साथीहरुलाई पनि पठाइदिने कार्य गरिदिनुभएको छ । भिडियोको लागि पनि सहयोग गर्नुभएको छ ।

 

५. “ओठमा लाली” बोलको गीतलार्इ अलिक धेरै बजारमा प्रमोसनमा ल्याउनुभएको छ । यो कस्तो प्रकारको गीत हो ?

- यो गितमा शब्द र संगित उदिम रार्इको रहेको छ । “ओठमा लाली” भन्नाले एउटा टिनएजको चेलीलाई सोचेर त्यो उमेरमा जे लगाएपनि राम्रो देखिने कल्पना गरेर बनेको गित हो । छिटो प्रकारको भएकाले पनि प्रमोसनमा राखेका हाै । विशेषगरी वैशमा हेर्दा जसरीपनि राम्री देखिने चेलीलाई सोचेर बनेको गित हो ।

 

६. “त्यसै-त्यसै” बोलको गीत कस्तो प्रकारको गीत हो ?

- यो गितमा शब्द र संगित मेरै रहेको छ । “त्यसै त्यसै अाँखा जुध्यो परेलिले बल्यो, मन्दमन्द मुस्कानमा मनको कुरा खुल्यो” भन्ने शब्दहरू छन् । यो गीत भावनाको विषयलाई लिएर कोरेको हो । यो गीतलार्इ आधुनिक मायाप्रेमको सुगम गीत भन्न रुचाउछु । एकजनाले अर्कोलाई देख्दा आँखा जुधेपछिका भावनाहरु यो गीतमा रहेको छ ।

 

७. “चाहिएको छ” र “परदेशीले” बोलको गीत कस्तो प्रकारको गीत हो ?

- “चाहिएको छ” गितमा शब्द सुनिल पुरी संगित उदिम रार्इको रहेको छ । “चाहिएको छ” भन्ने गीत एउटा देशभक्तिको भावना बोकेको गीत हो । “परदेशीले” बोलको गितमा शब्द चन्द्रकुमार रार्इ हतुवाली र संगित उदिम रार्इको रहेको छ । “परदेशीले” भन्ने गीतमा परदेश गैसकेपछि भुलिदिने, फर्केर आउँदा पनि सम्पर्क नहुने प्रकारको मायाबादी, विरह, वेदना र बिछोडको भावना बोकेको गीत हो ।

 

८. गित गाउने प्रेरणा कसरी मिल्यो ?

- (गायिका) पहिले हामी सानो छँदा हाम्रो गाउँमा एउटा क्लब थियो । क्लबबाट विभिन्न कार्यक्रममा जाने गर्दथ्याै । म कक्षा ३ मा पढ्दै गर्दा एउटा जिल्ला स्तरीय कार्यक्रम भएको थियो । खोटाङ जिल्लामा हाम्रो विद्यालयबाट पनि भाग लिने कुरा भयो । त्यो बेला गीत गाएर दोस्रो स्थान हासिल गर्न सफल भए । त्यो बेला सबैले राम्रो छ । तिमीले गाउनुपर्छ भनेर सरहरु र साथीहरुले पनि भन्ने गर्न थाल्नुभयो । त्यसैले राम्रो होला कि भन्ने पनि भयो । यसरी नै गीत गाउन सुरु भएको हो । पछी २०६२/६३ सालतिर डा. किरात गुरुबाट संगीतको सामान्य शिक्षा लिएको थिए ।

 

९. गित लेख्नका लागि कसरी समय मिलाउनुहुन्छ ?

- सिर्जना भनेको कस्तो हुँदोरहेछ भने त्यसलाई साइत जुराएर टेबलमा राखेर, सजाएर यो बेला लेख्छु भन्दा त्यो समयमा नहुँदो रहेछ । त्यो कतिबेला आउँछ, कतिबेला फुरीन्छ थाहै हुँदैन । जतिबेला पनि जहाँ पनि त्यो भावनामा आउँदोरहेछ । म संगीतको बिज्ञ मान्छे भने होइन । म एउटा संगीतको विद्यार्थी हो । मैले सुर र ताललाई बुझ्ने भएकोले गीतलाई लय हाल्दा हुँदोरहेछ भने अन्य गीतहरूबाट प्रेरणा पाएकोले यो सांगीतिक क्षेत्रलाई अघि बढाउँदै गएको हो ।

 

१०. तपाईको सांगीतिक जीवनमा मिलन गीति एल्बमले कस्तो महत्व राखेको छ ?

- यो एल्बम एउटा संगीतको एकमुष्ट किताब हामीले निकालेका छौ । पाँचवटा गीतको यो एल्बमले जे जस्तो भएपनि यसमा आफ्नो जीवनकालको एउटा इट्टा थप्ने काम भएको छ । यो एउटा आफ्नो जीवनको अध्याय भएकोले निकै महत्व रहेको छ । किनभने यो संगीतले नै हामीलाई चिनाएको छ । यसले नै हाम्रो मान मर्यादा पनि राखिदिएको छ । यसकै माध्यमबाट हामीलाई चिन्नुभएको छ । मिलनालाई पनि केही हदसम्म सबैले चिनेको कारणले यसको निकै महत्व रहेको छ ।

 

११. बाहिर सङ्गीतकार र गायिका घरमा श्रीमान श्रीमती हुनुहुन्छ । घरको सांगीतिक माहोल कस्तो रहेको छ ?

- खासै त्यस्तो परिवारमा कोही पनि संगीतकार गीतकार हुनुहुन्न । पहिले-पहिले हाम्रो बाबुबाजेले आफ्नो संस्कार संस्कृति मान्दा सांगीतिक माहोल हुने गर्दथ्यो । वास्तवमा भन्दा त्यो पनि संगीतको अंश भएकोले त्यस्तै माहोलबाट नै संगीत प्रति लगाव बढेर आएको हो ।

 

१२. संगीतलाई कसरी व्याख्या गर्नुहुन्छ ?

- (संगीतकार) संगीत एउटा जीवन हो । म जीवन र संगीत एउटा सिक्काको दुईवटा पाटा ठान्दछु । संगीत बादन, गायन र शब्द सम्मिश्रण भएर बनेको एउटा एकमुष्ट धुन हो । संगीत यस्तो चिज हो जसले मान्छेलाई क्षणभरमा हसाउँछ पनि रुवाउँछ पनि, संगीत भित्र डुबेर संगीतलाई बुझ्ने हो भने सम्पुर्ण जीवन पाइन्छ । यथार्थ, हाँसो, खुसी, रोदन संगीत भित्र हुन्छ । संगित मानिसको जीवनको ऐना हो ।

- (गायिका) धुन, शब्द र गायन सबै मिलेरबनेको एउटा पूर्णरुप नै संगीत हो । संगीत समाजको ऐना हो । जसलाई जोसुकैले आ-आफ्नो तरिकाले हेर्न र बुझ्न सक्छन् । संगीत मनोरञ्जन पनि हो ।

 

१३. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

- (संगीतकार) सम्पूर्ण श्रोताहरुलाई हाम्रो सिर्जना सुनेर माया गरिदिनुहोला, आगामी सांगीतिक यात्रा फराकिलो बनाउनका लागि हामीलाई सुझाव सल्लाह दिनुहोला भन्न चाहन्छु । हाम्रो सांगीतिक यात्रा अघि बढाउन लागि तपाईहरुकै हात छ । सम्पूर्णले हामिलाइ सहयोग गरिदिनु होला भन्न चाहन्छु ।

- (गायिका) जसरी आज माया गरिरहनुभएको छ । यसरी नै आगामी दिनमा पनि माया गरिदिनुहोला ।