२०७५-११-५

०७:२०

लिबियाली नागरिकको पुनः मिलन गराउन राष्ट्रसङघ प्रमुखको आग्रह

अदिस अबाबा, इथियोपिया, २७ माघ - लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटर्रेसले आह्वान गरेका छन् ।

महासचिव गुटेर्रेसले आइतबार उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहहरूलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने विचार व्यक्त गर्दै उनले भने, “लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र सङ्घको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु हो ।”

अफ्रिकन यूनियनको फेब्रुअरी १० र ११ मा भइरहेको ३२ औँ शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेताहरूलाई अदिस अबाबामा सम्बोधन गर्दै उनले लिबियाली समस्या अन्त्यको सामुहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गरेका हुन् ।

राष्ट्रसङ्घ प्रमुखले भने, “यो समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो । यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्नुस् ।”

“हाम्रो पहलमा लिबियाको मौद्रिक सङ्कटलाई स्थायित्व दिन केही आर्थिक उपायको खोजी भएको छ जसले वास्तविक रूपमा सुरक्षा सुधारको अवस्थालाई केही हदसम्म सम्बोधन गरेको छ ।”
(रासस÷सिन्ह्वा)